गाउँका कर्मचारी मनका भकारी :- बिपन्न परिवारको घर बनाइदिदै

टोपलाल अर्याल
गुल्मी, २२ भदौ

गुल्मीको मालिका गाउँपालिकाका कर्मचारीले निजामति कर्मचारी दिवसको अवसरमा उदाहरणीय कामको सुरुवात गरेका छन् । उनीहरुले दिवसकै अवसरमा मालिका ८ की राधिका सुनारको घर निर्माणको अभियान संचालन गरेका छन् । सुनार बिपन्न र अपाङ छन् । घर पनि अत्यन्तै जिर्ण भएकाले दिवसकै अवसरमा रचनात्मक कामको सुरुवात गरिएको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए । सोमबार सुनारको घर निर्माणको लागि गाउँपालिकाका सम्पूर्ण कर्मचारीको तर्फबाट नगद ७५ हजार प्रदान गरिएको भण्डारीले जानकारी दिए । तत्काल घर निर्माणको लागि डम्बर बहादुर पौडेलको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरिएको छ । उनले गाउँपालिका प्रमुख रित बहादुर थापा मार्फत समितिका अध्यक्ष पौडेललेलाई नगद प्रदान गरिएको बताए । ‘कर्मचारी सधै नागरिककै सेवा छन्, सहयोग गर्ने दिवस अर्को अवसर बन्यो,’उनले भने,‘ कर्मचारी र नागरिकबिचको सम्बन्ध थप स्थापित भएको उदाहरण मात्रै प्रस्तुत गरेका छौ ।’ राधिका सुनार उमेरले ५० पुगिन् । सम्पतिको नाममा सुनारसंग चिमले बारेको खरे घर र पाँच पाथी अन्न फल्ने बारी छ । पाखुरी नचले अगेनो बल्दैन् । त्यो पनि शारिरीक रुपमा कम्जोर भएकाले सोचे जस्तो सजिलो छैन् । भारत कमाउन गएका श्रीमान भिमबहादुर सुनार कामकै शिलसिलामा घाइते भए । बल्लतल्ल भारतमै आफ्नो ज्यान पालेका छन् । राधिका र ११ बर्षीया छोरी संगीता पनि अपाङ हुन् । आमाको हात कम्जोर र छोरीले आँखा देख्दैनन् । घरमा डेढ बर्षको छोरा, अपाङ छोरीसहित परिवारको पालनपोषणले राधिकाको दैनिकी निकै कष्टपूर्ण बन्दै गएको छ । सोमबार सुनारको घरमा एक्कासी गाउँपालिका प्रमुुखसहित जनप्रतिनिधी र कर्मचारी आए । उनी सुरुमा छक्क पनि परिन् । कहिल्यै नआएका गाउँपालिका प्रमुख र थुप्रै कर्मचारी एकैचोटी घर आए । घर बनाउने घोषणासहित पैसा समेत दिएपछि राधिकासंग खुसीको सिमा रहेन् । ‘मलाई थाहै थिएन सरहरु भगवान आए जस्तै आउनुभयो,’उनले भनिन,‘खुसी नहुने कुरै भएन बुढेशकालमा ओत पाउने भएँ ।’ गाउँपालिका प्रमुख रित बहादुर थापाले महिलाको पारिवारीक अवस्था र कर्मचारीहरुको सहयोगी भावनाले आफु अत्यन्तै प्रभावित भएको बताए । उनले कर्मचारीहरुसगै रहेर गाउँपालिकाले पनि घर निर्माणमा सहयोग गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share via
Copy link
Powered by Social Snap